काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपविजेता संकटा युथ क्लबले खेलाडीलाई बैंकक लगेर मैत्रिपुर्ण खेल खेलाउने भएको छ । औसत खेलाडी समावेश गर्दै लिगमा उपविजेता बनेको संकटाले खेलाडीलाई घुमाउन र मैत्रिपुर्ण खेलका लागि थाईल्याण्डको बैंकक लैजाने भएको हो ।
‘पुरस्कार वापत टोकन मनीको बिषयमा कुरा गर्दा खेलाडीले बैंकक जाने सल्लाह गरे । सोही अनुसार खेलाडीलाई रिफ्रेस गराउन र मैत्रिपुर्ण खेल खेलाउन बैंकक लैजाने निर्णय भएको छ ।’ क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरले खेलपाटीसंग भने ।
‘शीर्ष डिभिजनको क्लबसंग मैत्रिपुर्ण म्याच खेल्न प्रयास गरिरहेका छौ । तर थाईल्याण्डको ‘ए’ वा ‘बी’ मध्य एक टिमसंग म्याच खेल्ने बिषयमा कुराकानी भईरहेको छ ।’ उनले थपे ।
संकटाले लिगको उपविजेता बन्दै ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । संकटाको कार्यसमिति बैठकले समेत खेलाडीलाई सम्मान स्वरुप बैंकक लगेर मैत्रिपुर्ण म्याच खेलाएर रिफ्रेस गराउने बिषयमा निर्णयमा गरेको छ ।
संकटाले पुरस्कार वापत पाएको केही रकम क्लबको पुर्वाधार निर्माणसंगै अभ्यासका लागि लिजमा लगेको जग्गामा खर्च गर्ने बताएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले उपविजेता क्लब संकटालाई भारत र भुटान मध्य एक प्रतिष्ठित प्रतियोगितामा पठाउने तयारी गरेको छ । त्यसको टुङ्गो लाग्न बाँकी रहेको एन्फाका महासचिव समेत रहेका तुलाधरले बताए ।
लिग विजेताको हैसियतामा मनाङले एएफसी कप खेल्नेछ । ए डिभिजन लिग सकिए लगत्तै ए डिभिजनका क्लबहरु मोफसलका प्रतियोगितामा चैतसम्म व्यस्त रहनेछन् ।
संकटाले लिग सकिए लगत्तै धनगढीमा सञ्चालन भईरहेको खप्तड गोल्डकपमा सहभागिता जनाउनेछ ।