प्लानिङलाई एनआरटीले रोक्यो

फाइल तस्बिर
काठमाडौं। न्युरोड टिम (एनआरटी) फुटबल क्लबले राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडलाई बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा प्लानिङ ब्वाइज र एनआरटीले १–१ को बराबरी खेलेका हुन्। प्लानिङको यो दोस्रो बराबरी हो। लिगमा ८ खेल खेलेको प्लानिङले १७ अंक जोडेको छ।
एनआरटीको भने यो तेस्रो बराबरी हो। समान खेलबाट एनआरटीको १५ अंक रहेको छ। खेलको नवौं मिनेटमा प्लानिङका रोमन भुजेलको फ्रिकिक गोल पोस्टको दायाँ भएर बाहिरियो।
३४औं मिनेटमा एनआरटीका अञ्जन विष्टको पासमा ओमोलजा करिमको हेडरलाई प्लानिङका गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गर्दै संकटलाई टारे। ४०औं मिनेटमा कप्तान प्रतापसिंह राईको गोलमा प्लानिङले सुरुआती अग्रता लिए। तर, प्लानिङले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन।
पहिलो हाफको इन्जुरी समयमा टिमोथी चिमेरी ओकेरेकेको गोलमा एनआरटी खेलमा फर्कियो। ७३औं मिनेटमा प्लानिङका पापा इबू केबेले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारले गति लिन सकेन।
८६औं एनआरटीका करिमले पहेंलो कार्ड पाए। त्यसको केही समयपछि सिधै रातो कार्ड पाउँदै उनी मैदानबाट बाहिरिए। त्यसपछि एनआरटी १० खेलाडीमा सीमित भए पनि प्लानिङले फाइदा उठाउन सकेन।













