काठमाडौँ। सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन्।
उनले रवि खड्का, भुवन कुमार रोक्का र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन्। रवि, भुवन र नीरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर ७० को नतिजामा पूर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरूपमा पाँचौँ स्थान बाँडे। पशुपति शर्मा ३-ओभर ७१ को स्कोरमा दसौँ स्थानमा रहेका छन्।
पहिलो दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। दिनको सुरूवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो र नवौँ होलमा बर्डीको सामना गरे। ब्याक नाइनमा भने उनी सम्हालिए। १०औँ, ११ औँ र १५औँ होलमा एक-एक सट बचाए भने १७औँ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। इभन-पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो।
रविले शुरूआत खराब गरे। दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याए। १२औँ, १३औँ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाइन ३-अन्डर ३१ पुरा गरे।
भुवन रोक्काले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र तेस्रो होलमा बोगी प्रहार गरे भने दोस्रो, चौथो र पाँचौँ होलमा एक-एक सट बचाए। सातौँ होलमा भने डबल बोगीको सामना गरे। यसपछि उनले ब्याक नाइनको सबै ९ होलमा नै पार जोगाए।
नीरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा ईगलको सफलता प्राप्त गरे। तर तेस्रो र नवौँ होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि ११औँ होलमा डबल बोगी खेपे भने १३औँ होलमा एक सट खेर फाले। १६औँ होलको बर्डीले ब्याक नाइन २-ओभर ३६ मा पूरा गरे।
एमेच्योरतर्फ टासी छिरिङ र सद्भाव आचार्य संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले ४-ओभर ७२ मा पहिलो दिनको खेल सकाए। ८-ओभर ७६ को स्कोरमा निल कुमार थापा र भरत थापा मगरले संयुक्तरुपमा तेस्रो स्थानमा बाँडे।
सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुवास तामाङले पहिलो दिन ४-ओभर ७२ को प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सद्भावसँग संयुक्तरुपमा ११औँ स्थानमा रहेका छन्।
चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्। ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्।