काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन्। एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंग्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। इंग्ल्यान्ड ‘सी’ ले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।
प्रारम्भिक टोली
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जेलेस्पेजंग कार्की, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, राजेश परियार