काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्यो।
विशाखापट्टनममा भएको खेलमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। दिल्लीका ओपनर डेभिड वार्नर र पृथ्वी शाले टोलीलाई उत्कृष्ट शुरूआत दिलाए। दुवैले पहिलो विकेटका लागि ९३ रन जोडे।
यो क्रममा वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो आईपीएल करिअरको ६२औँ अर्धशतक बनाए। यो उनको कीर्तिमान हो। उनले मात्र होइन, यस खेलमा चेन्नईका विकेटकिपर महेन्द्र सिंह धोनीले पृथ्वी शाको क्याच लिएर एक कीर्तिमान पनि बनाएका छन्।
विकेटकिपरको रूपमा धोनीको पृथ्वीको क्याच टी–२० करिअरको ३००औँ थियो। यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो विकेटकिपर बनेका छन्।
पाकिस्तानका कामरान अकमल र भारतका दिनेश कार्तिकले २७४–२७४ विकेट लिएर संयुक्त रूपमा दोस्रो स्थानमा छन्। योसँगै क्विन्टन डी कक २७० विकेट लिएर तेस्रो र जोस बटलर २०९ विकेट लिएर चौथो स्थानमा छन्। पृथ्वी शा २७ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाएर आउट भए ।