काठमाडौं । पाँचौं संस्करणको फिफ्टिन्स रग्वी च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ ।
शनिबार लिग चरणको अन्तिम खेलमा आर्मीलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
गोर्खाली प्रतियोगितामा अपराजित रहदै उपाधि उचालेको हो ।
लिग चरणको पहिलो खेलमा गोर्खालीले पुलिस क्लबलाई ५४–३ ले हराएको थियो भने दोस्रो खेलमा एपीएफमाथि ४९–२० अंकको स्कोरले हराएको थियो ।
प्रतियोगितामा अपराजित गोर्खाली रग्वीले तीन खेलबाट ९ अंक जोड्न सफल रह्यो । उपाधि सहित गोर्खाली रग्वीले १ लाख रुपैयाँ हात पारेको छ ।
शनिबारनै भएको पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराएको छ ।
प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा एपीएफले पुलिसलाई हराएको हो । जित सहित एपीएफ प्रतियोगितामा दोस्रो बनेको छ । उसले तीन खेलबाट ७ अंक जोडेको छ ।
उप–विजेता बनेको एपीएफले ५० हजार रुपैयाँ हात पारेको छ ।
साविक उपविजेता आर्मी प्रतियोगितामा तेस्रो बन्यो । उसले ५ अंक मात्र जोड्यो । तीन वटै खेलमा पराजित बनेको पुलिस ३ अंक सहित पुछारमा रहयो ।
प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा आर्मी, पुलिस, एपीएफ र गोर्खाली रग्वी गरी चार टिम सहभागी थिए । नेपाल रग्वी संघले फिफ्टिन्स लिग च्याम्पियनसिपको पाँचौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई लिएर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी संघले जनाएको छ ।