काठमाडौं । काठमाडौं जिल्ला स्तरीय १३ औं रनिङ शिल्ड प्रतियोगिताको उपाधि तारकेश्वर नगरपालिकाले जितेको छ ।
बुधबार सम्पन्न प्रतियोगितामा ३२ स्वर्ण हात पार्दै तारकेश्वरले जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि हात पारेको हो ।
विजेता टिमलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती लगायतले रनिङ शिल्ड हस्तान्तरण गरेका थिए ।
एथलेटिक्सतर्फ १९ स्वर्ण जितेको तारकेश्वरले जम्मा ३२ वटा स्वर्ण पदक जितेर रनिङ शिल्ड हात पारेको हो । तारकेश्वरले एथलेटिक्समा १९, भलिबलमा १, कराँतेमा ६, तेक्वान्दोमा ३ र उसुमा ३ सहित ३२ स्वर्ण जितेको हो ।
काठमाडौं महानगरपालिका १८ स्वर्ण सहित दोस्रो र चन्द्रागिरी नगरपालिका ७ स्वर्ण सहित तेस्रो बनेको छ ।

प्रतियोगितामा काठमाडौं महानगर सहित ११ वटा स्थानीय पालिका सहभागी भएका थिए ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको थियो ।
