काठमाडौं । गोर्खाली रग्वी क्लब काठमाडौंमा जारी फिफ्टिन्स रग्वी च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार दशरथ रंगशालामा विभागीय टिम एपीएफलाई हराउँदै गोर्खाली रग्वी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
जित सहित गोर्खाली रग्वी क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
दशरथ रंगशालामा भएको लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा पराजित गर्यो ।
पहिलो खेलमा साविक विजेता आर्मीलाई हराएको एपीएफले दोस्रो खेलमा गोर्खालीको चुनौती पार गर्न भने सकेन । लिग चरणको अन्तिम खेलमा गोर्खाली रग्वीले आर्मीसँग खेल्नेछ भने एपीएफको भेट नेपाल पुलिस क्लबसँग हुनेछ ।
लिग तालिकामा दुई खेलमा जित निकालेको गोर्खाली ६ अंक सहित शीर्ष स्थानमा छ । एपीएफ ४ अंक सहित दोस्रो स्थानमा छ । समान १ अंक जोडेका आर्मी र पुलिस क्रमश तेस्रो र चौथों स्थानमा छन् ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपीएफ गरि चार टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित रनिङ ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।