'केपी ओली कप'मा आर्मीको पहिलो जित

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको टिम निलोविरुद्ध विभागीय टिमले १ सय १० रनको शानदार जित दर्ता गरेको हो ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतीमा १ सय ९५ रन बनाएको थियो ।
आर्मीका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । विनोद भण्डारीले २४ बलमा तीन चौका र तीन छक्काको मद्धतले ३८ रन बनाएर शुभम खनालको बलमा पोविलियन फर्किए ।
आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिदाँ वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । सन्दिप रजाली र भिम सार्कीले समान ६ रनमा नटआउट रहे ।
आयोजक निलोका मेहुल श्रेष्ठले २ विकेट र शुभम खनालले १ विकेट लिए ।
१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको आयोजक निलो १५ दशमलव ४ ओभरमा ८५ रनमा समेटियो ।
आर्मीका लागि १ दशमलव ४ ओभर बलिङ गरेका कुशल मल्लले २ रन दिएर तीन विकेट हात पारे । उनले १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई सून्य रनमा पोविलियनको बाटो देखाए ।
आयोजकका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिंदा ओपनर रोनिम तिवारीले १५ रन बनाए ।
आर्मीका जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट हात पारे ।
खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए । मंगलबार पहिलो खेल सुदुर पश्चिम र नेपाल पुलिस क्लव तथा दोश्रो खेलमा कोशी प्रदेश र नेपाल आर्मीबीच हुनेछ ।
बिहान भएको पहिलो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशमाथि ८ विकेटले शानदार जित निकालेको छ ।













