काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आईतबार १० टिमले आफ्ना खेलाडीको रिटेन र रिलिज सूचि जारी गरेका छन् ।
सूचि जारी हुने बित्तिकै खेलाडी ट्रान्सफर विन्डोमा सबैभन्दा ठुलो ब्यापार देखियो । गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले आफ्नो टिम छाड्दै मुम्बई इन्डियन्स फर्किएका छन् । खातामा पैसा नभएको मुम्बईले समेत केही खेलाडी रिलिज गर्दै पाण्ड्यालाई टिममा फर्काएको हो ।
सन् २०२२ मा गुजरात नयाँ टिमको रुपमा आईपीएलमा आएको थियो । गुजरातले पाण्ड्यालाई १५ करोड रुपैयाँ दिएर आफ्नो टिमको कप्तान बनाएको थियो । पहिलो सिजनमै पाण्डेयाले गुजरातलाई आईपीएलको उपाधि दिलाएका थिए । त्यसअघि पाण्ड्या मुम्बई टिमका लागि खेल्थे ।
मुम्बईले अष्ट्रेलियन अलराउण्डर क्यामरन ग्रिनलाई बेचेर हार्दिकलाई किनेको हो । ग्रिन रोयल च्यालेन्जर्स बैंग्लोर जाने सम्भावना छ ।
फास्ट बलर तथा अलराउण्डर हार्दिक पाण्ड्याले आईपीएलमा १ सय २३ म्याचमा १ सय १५ इनिङ्समा २ हजार ३ सय ९ रन बनाएका छन् । जसमा उनले १० अर्धशतक प्रहार गरेका छन् । पाण्ड्याले ८१ खेलमा ५३ विकेट समेत लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर १७ रन दिएर ३ विकेटको छ ।