योगेन श्रेष्ठ
काठमाडौं । विभागीय टिम एपीएफ केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतबार समूह बीको खेलमा लुम्बिनीले गण्डकीलाई हराएसँगै समूह विजेताको रुपमा एपीएफ सेमिफाइनल प्रवेश गरेको हो ।
समूह चरणको पहिलो खेलमा एपीएफलाई पहिलो खेलमा गण्डकीले हराएको थियो । दोस्रो खेलमा एपीएफले शनिबार लुम्बिनीलाई हराएको थियो । समूह चरणको अन्तिम खेलमा लुम्बिनीले गण्डकीलाई हरायो ।
समूह बीमा सबै टिमले समान एक जित सहित २ अंक जोडेका छन् । नेट रनरेटका आधारमा एपीएफ सेमिफाइनल पुग्ने समिकरण बनेको हो ।
पहिलो खेलमा एपीएफलाई हराएर शानदार सुरुवात गरेको गण्डकीले दोस्रो खेलको नतिजा लुम्बिनलाई सुम्पियो । लुम्बिनीले गण्डकीलाई ५ रनले हरायो ।
सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।
ध्रुव सुनार र नर सार्कीले समान २३ रन बनाएको लुम्बिनीको इनिङ्समा भरत भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडेका थिए ।
गण्डकीका अमृत गुरुङले ३, चन्द्र पौडलले २ तथा विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरले समान एक एक विकेट लिएका थिए ।
पोखरा क्रिकेट रंगशालामा १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली ७ बल बाँकी छदै ९८ रनमा समेटियो । तल्लो क्रमका ब्याट्सम्यान सुदीप अर्यालले ३५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले प्रर्दशन गर्न सकेनन् ।
लुम्बिनीका एमडी हुसेनले ४, अजय लुनियाले ३, रमेश कुर्मीले २ तथा अभिषेक गौतमले १ विकेट लिए ।
लुम्बिनीले गण्डकीलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।