काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले विपन्न वर्गको कोटाबाट आफूलाई बनाइदिने भनेको घर नलिने बताएका छन्। आमाको निधनपछि क्रियामा बसेको ११औं दिन उनले विपन्न वर्गको घर सुविधा नलिने बताएका हुन्।
केही दिनअघि कोशी प्रदेशसभा सदस्य अमृत अर्याल ललितको आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न घर पुगेका थिए। उनले ललितको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घरमध्ये एउटा ललित लागि निर्माण गरिने बताएका थिए।
उक्त घोषणापछि सामाजिक सञ्जालमा व्यापक बहस भएको थियो। कसैले समर्थन जनाए भने कसैले नेपाल प्रिमियर लिग (एनपिएल)मा २० लाख रुपैयाँ, नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीबाटसमेत लाखभन्दा बढी लिँदै आएको कारण ललित आफैं घर बनाउन सक्षम रहेको भन्दै आलोचना पनि गरेका थिए।
ललितले यस्तो सुविधा लिन अस्वीकार गर्दै भने, ‘म घर बनाउन सक्षम छु। आफ्नै प्रयासमा घर बनाउन सक्छु। अहिले आमाको निधनका कारण मात्र यो योजना रोकिएको हो। यस्तो घर मलाई होइन, साँच्चिकै घरविहिन विपन्न परिवारलाई दिनु न्यायसंगत हुन्छ।’
जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुन्छ। ललितका लागि दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण गर्दिने अर्यालको योजना थियो।
उनले सरकारले सहानुभूति वा सम्मानस्वरूप कुनै सहयोग गर्ने हो भने स्वीकार गर्ने बताए। तर, विपन्न वर्गका लागि छुट्याइएको कोषबाट आउने सुविधा लिन नहुने बताए। ‘विपन्न वर्गलाई बाँच्ने आधारका रूपमा सरकारले दिने सहयोग हो, त्यसलाई मैले लिन मिल्दैन,’ उनले भने।
ललितको परिवार पाँच पुस्तादेखि विराटनगरमै बसोबास गर्दै आएका छन्। बुबाको नाममा एक बिघाभन्दा बढी घडेरी छ, जसको मूल्य करोडौँमा पर्छ। त्यति मात्र होइन, ललित आफैं पनि अहिले आर्थिक रूपमा सक्षम छन्। नेपाल पुलिसमा उनी करार सेवा छन्। दुई संस्थामा ब्रान्ड एम्बासडरको भूमिका र क्रिकेटबाट हुने आयमार्फत उनले पर्याप्त कमाइ गरिरहेका छन्।