काठमाडौं । बुधबारबाट पाकिस्तानमा १६ औं संस्करणको एसिया कप सुरु हुँदैछ ।
एसिया कपको उद्घाटन खेलमा नेपालले घरेलु टोली खेल्नेछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।
नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । भारत र पाकिस्तानसँग नेपालले खेल्ने हुँदा विश्वको नजर नेपाली टोली र खेलाडीमा हुनेछ ।
कुनै पनि टोलीको प्रदर्शन मैदान र त्यसको अवस्थाले धेरै फरक पार्नेछ । नेपालले खेल्ने मुल्तान मैदानको कुल दर्शक क्षमता ३५ हजार छ । मुल्तानमा २००१ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो ।
मुल्तान रंगशालामा पहिलो ओडिआई खेल २००३ मा पाकिस्तान र बंगलादेशबीच भएको थियो । यस रंगशालामा अन्तिम ओडिआई खेल २०२२ जुन १२ मा वेस्टइन्डिजविरुद्ध पाकिस्तानले खेलेको थियो ।
मुल्तानमा हालसम्म १० ओडिआई खेल भएका छन् । पाकिस्तानले १० मध्ये ७ खेलमा विजयी हात पारेको छ । मुल्तान रंगशालामा २००७ मा दक्षिण अफ्रिकासँग हारपछि पाकिस्तानले कुनैपनि ओडिआई खेल गुमाएको छैन ।
यस मैदानमा ओडिआईको उच्च स्कोर ३ सय २३ रन छ । २००३ मा पाकिस्तानले बंगलादेशविरुद्ध ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । मुल्ताानमा ओडिआईमा २० इनिङ मध्ये तीन इनिङमा मात्रै ३ सय माथि योगफल बनेको छ ।
पाकिस्तानले २०२२ मा वेस्टइन्डिजविरुद्ध ३सय माथि को लक्ष्य पूरा गरेको थियो । अन्य खेलमा ३ सय रनको लक्ष्य पूरा हुन सकेको छैन ।
यस मैदानमा बनेको कम स्कोर जिम्बावेले पाकिस्तानविरुद्ध बनाएको रन हो । पाकिस्तानविरुद्ध जिम्बावे १ सय ४८ रनमा अलआउट भएको थियो ।
मुल्तानमा ओडिआईमा सर्वाधिक धेरै व्यक्तिगत रन पाकिस्तानका इमाम उल हकले बनाएका छन् । उनले गतवर्ष वेस्टइन्डिजविरुद्ध ३ खेलमा १ सय ९९ रन बनाएका थिए । यस मैदानमा हालसम्म ओडिआईमा ६ शतक प्रहार भएका छन् ।
सन् २००४ मा भारतका विरेन्द्र शेहवागले टेस्ट क्रिकेटमा खेलेको ३ सय ९ रनको इनिङ यसै मैदानमा थियो ।
मुल्तान रंगशालामा स्पिन बलिङको आँकडा राम्रो छ । सादब खान र मोहम्मद नवाजले सर्वाधिक ७ विकेट लिएका छन् । शोएब मलिक र शाहिद अफ्रिदीले ६–६ विकेट लिएका छन् । गतवर्ष वेस्टइन्डिजका निकोलस पुरनले स्पिन गर्दै एकै खेलमा चार विकेट लिएका थिए ।