काठमाडौं । पाकिस्तानले अफगाानिस्तानविरुद्धको तीन खेलको ओडिआई सिरिज क्लिन स्विप गरेको छ ।
सिरिज क्लिन स्विपसँगै पाकिस्तान आइसीसीको ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।
शनिबार राती श्रीलंकाकाृ कोलम्बोमा सम्पन्न तेस्रो तथा अन्तिम ओडिआई पाकिस्तानले ५९ रनले जितेको थियो ।
पाकिस्तानले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४८ दशमलब ४ ओभरमा २ सय ९ रनमा अलआउट भयो ।
अफगानिस्तानका लागि मुजिब उर रहमानले ३७ बलमा ५ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।
ओपनर रियाज हसनले ६६ बलमा ५ चौकासहित ३४ र रहमानउल्लाह गुरवाज ५ रनमा आउट भए ।
साहिदुल्लाह कमल ६५ बलमा २ चौका सहित ३७ रनमा आउट भए ।
पाकिस्तानका लागि शादब खानले ३ तथा शाहिन शाह अफ्रिदी, फहीम अशरफ र मोहम्मद नवाजले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।
पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान र बाबर अजामले अर्धशतकीय ईनिङ खेलेका थिए । रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित ६७ रनको योगदान दिए ।
कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए ।
ओपनर फखार जमान २७ तथा मोहम्मद नवाज २५ बलमा २ चौका र १ छक्कासहित ३० रनमा आउट भए । अघा सलमान ३१ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे ।
अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान २२ तथा राशिद खान, मुजिब उर रहमान र फैजहक फारुकीले समान १/१ विकेट लिए ।