काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।
नेपालले उपाधि जित्न हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको हो ।
राम्रो ब्याटिङ सुरुआत गरेको नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।
नेपालकी इन्दु बर्मा १९ बलमा २ चौकासहित १९ रनमा क्रिजमा छिन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी छिन् ।
नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।
हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिएका थिए ।