काठमाडौं । पाकिस्तानले दोस्रो ओडिआई खेलमा अफगानिस्तानलाई रोमान्चक रुपले हराएको छ ।
श्रीलंकाको हम्बान्टोतामा बिहीबार भएको खेलमा पाकिस्तानले एक विकेटको रोमान्चक जित हात पारेको हो ।
यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।
अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ दशमलब ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानको जितमा ओपनर इमाम उल हक र बाबर अजामले अर्धशतक बनाए । इमामले १ सय ४ बलमा ४ चौकासहित ९१ रन बनाए । कप्तान बाबरले ६६ बलमा ६ चौकाको सहयोगमा ५३ रन बनाए ।
पाकिस्तानको जितमा नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे । शादब खानले ३५ बलमा ३ चौका र १ छक्कासहित ४८ रन बनाए ।

पाकिस्तानलाई ओपनर फखार जमान र इमाम उल हकले पहिलो विकेटका लागि ९ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । फखार जमामले ३४ बलमा ५ चौकासहित ३० रन प्रहार गरेका थिए ।
अफगानिस्तानका फजलहक फारुकीले ३ तथा मोहम्मद नाबीले २ विकेट लिए । मुजिब उर रहमान र अब्दुल रहमानले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो ।
अफगानिस्तानका ओपनर तथा विकेटकिपर रहमानउल्लाह गुरबाजले १ सय ५१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५१ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । यो उनको ओडिआइ करिअरको पाँचौ शतक हो ।
पहिलो विकेटका लागी रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ३९ दशमलब ५ ओभरमा २ सय २७ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
इब्राहिम जद्रान १ सय १ बलमा ६ चौका र २ छक्कासहित ८० रनको अर्धशतकीय ईनिङ खेल्दै आउट भएका थिए । मोहम्मद नाबी २९ तथा कप्तान हश्मातुल्लाह शाहिदी १५ मा आउट भए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र उस्मा मिरले समान १/१ विकेट लिए ।
दुई बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।