काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर रहेको बताएका छन् ।
बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहिबारबाट कराँचीमा प्रशिक्षण पनि सुरु गरिसकेको छ ।
कराँचीमा पत्रकारसँग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् ।
‘भारत र पाकिस्तान जस्ता टोलीसँग खेल्न पाउनु हाम्रा लाग ठूलो अवसर हो । नेपाली टोली योग्य भएर नै यो स्थानमा छ । मलाई थाहा छ नतिजा हाम्रो पक्षमा आउने छैन । टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु,’ देसाइले भने,‘ यहाँको व्यवस्थापन र सुबिधा राम्रो लाग्यो । पहिलो दिनको अभ्यास उत्कृष्ट रह्यो ।’
पाकिस्तानी संञ्चार माध्यमका अनुसार नेपाली टोलीले भदौ ९ सम्म कराँचीमा प्रशिक्षण गर्नेछ।
त्यहाँ स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।
पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।
नेपाली टोली भदौ १० गते मुल्तान पुग्नेछ। नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ ।
नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध भदौ १८ मा खेल्नेछ ।
भारतसँगको खेल क्यान्डिमा हुनेछ ।