काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन ।
क्यानले उनलाई आइतबार नियुक्त गरेको जानकारी दिएको छ । नेपाली महिला क्रिकेट टोली अहिले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा छ। सोही छनोटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो ।
देविकाले भारतबाट एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेकी छन । देविकाले वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षकत्व गरेको पनि अनुभव छ ।
त्यस्तै उनी भारत र बंगालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरि सकेकी छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्यामसन जंग थापाले यसअघि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइ सकेका छन् ।
छनोट प्रतियोगिता मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।
प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।