साफ खेल्ने फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको छ ।
केटीएम सिटीले मंगलबार एक विज्ञप्ति निकाल्दै भारतको बैंगलोरमा बुधबार सुरु हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरिएको जनाएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
पछिल्लो दुई वर्ष केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको मुख्य किट पार्टनरको रुपमा अखिल नेपाल फुटबल संघ एन्फालाई सहयोग गरेको थियो ।
एन्फाबाट सहयोगको माग भएअनुसार केटीएम सिटीले म्यानमारमा सम्पन्न एएफसी यू–२० वुमेन्स एसियन कप छनोट प्रतियोगिता खेलेको महिला टिम र भारतमा बुधबार सुरु हुने साफ खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको हो ।
एन्फाले जर्सी, ट्रयाकसुट, ट्रेनिङ्ग जर्सी, किट ब्याग लगायतका खेल सामाग्री प्रायोजनका लागि अनुरोध गरेअनुसार शेर्पा आउटडोर स्पोर्ट्स गुड्स इन्डष्ट्रिज प्रालीको केटीएम सिटीले १५ लाख २७ हजार ९ सय १८ रुपैयाँको खेल सामाग्री निशुल्क रुपमा प्रायोजन गरेको हो ।
नेपाली खेलकुदको विकास र प्रबद्र्धनमा केटीएम सिटीले सधै सहयोग र सहकार्य गर्दै आएको छ ।
'खेलकुदसँगको सहयोगलाई हामीले बिशुद्ध राष्ट्रप्रतिको जिम्मेवारी र सेवाको दृष्टिकोणले लिएका छौं,' केटीएम सिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फुटबल सहित नेपाली खेलकुदका अन्य स्पर्धासँग जोडिएर हामीले निरन्तर सहयोग गर्दै आएका छौं ।'
केटीएम सिटीले फुटबल सहित क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिङ, मार्सल आर्ट लगायतका खेलमा सहयोग गर्दै आएको छ ।







-1754044149.jpg&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




