काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले आज मंगलबार मलेसियाको सामना गर्दैछ ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
उपाधि दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । घरेलु टोलीलाई घरेलु दर्शकको उत्तिकै साथ रहनेछ ।
मलेसिया पनि नेपाललाई हराएर प्रतियोगिताको जितबाट प्रतियोगिताको सुरुआत गर्ने योजनामा छ ।
नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो ।
मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।
प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।