काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ७८ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
गुजरातका लागि डेबिड मिलरले ३० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको बनाए ।
ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।

अभिनव मनोहरले १३ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २८ तथा साई सुदर्शन २० रनमा आउट भए ।
राजस्थानका लागि एडम जाम्पा,सन्दीप शर्मा,ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १/१ विकेट लिए । बोल्टले पहिलो ओभरमा नै ओपनर ऋद्धिमान शाहलाई कट एन्ड बोल्ड गरेका थिए ।
गुजरात र राजस्थान दुवैको यो पाँचौ खेल हो । अघिल्लो संस्करणमा गुजरातले राजस्थानलाई नै हराउदै उपाधी जितेको थियो ।
गुजरात र राजस्थानबीचको विजेता शीर्ष स्थानमा पुग्ने हुँदा खेल प्रतिस्पर्धात्मक हुने सम्भावना रहेको छ ।
दुई टोलीबीच अहिलेसम्म ३ खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ ।
भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।