काठमाडौं । तेस्रो संस्करणको बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा स्टार र कर्णाली क्रिकेट एकेडेमी विजयी भएका छन् ।
स्टार क्रिकेट एकेडेमीले पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले पराजित गरेको हो ।
स्टारले दिएको ९२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा ६६ रन मात्र बनायो ।
पोखराका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका अमर मिश्रले ३ तथा महेश बार र सन्तोष यादवले समान २/२ विकेट लिए ।
आज नै भएको अर्को खेलमा कर्णाली क्रिकेट एकेडेमीले ईलाम क्रिकेट एकेडेमीलाई ३२ रनले पराजित गर्यो ।
कर्णालीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको ईलामले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो ।
ईलामका लागि दिपु कुमार भुजेलले सर्वाधिक ३५ रन बनाउँदा अलिष मन्डलले २० रन बनाए ।
कर्णालीका लागि आदित्य शाहले ४ तथा लकि बम र आदित्य शर्माले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
कर्णालीका लागि विराट भन्डारीले ६२ रनको अर्धशतकीय ईनिङ खेले । मनिष थापाले ३५ रन बनाए ।
बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा प्रतियोगिता पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा जारी रहेको छ ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी,स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरको सहभागीता रहेको छ ।
खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि २०७८ साल देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ ।
लुम्बिनी प्रदेशको १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको आयोजना भएको थियो ।
काठमाडौं स्थित मुलपानी क्रिकेट स्टेडियममा मिति २०७९ अषाढ १ गतेबाट अषाढ ५ गतेसम्म पाँच प्रदेश (प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश ) र बलियो ११ को सहभागितामा बलियो नेपाल कपको दोश्रो संस्करण सम्पन्न भएको थियो ।