जय ट्रफी फागुन ८ देखि

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी क्रिकेट प्रतियोगिता यही फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिताका खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश क्रिकेट संघ सहभागी छन्। लिग चरणका खेल दुई/दुई दिनको हुनेछ।
तालिका अनुसार फागुन २०–२१ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् भने मूलपानी मैदानमा एपीएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
फागुन २३–२४ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एपीएफ र नेपाल पुलिस क्लब तथा मूलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्।
त्यसैगरी फागुन २६–२७ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ।
लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल खेल फागुन १ देखि ३ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ। सबै खेल बिहान ९:३० बजे सुरु हुने आयोजकले जनाएको छ।













