आर्मी र डब्लुडब्लुबिएलाई उपाधि
काठमाडौं । इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन् ।
नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकैनै रोमाञ्चक फाईनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४ – ३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो क्वाटरमा ८–१० ले पछाडी परेको आर्मी खेलमा फर्कदै दोश्रो क्वाटरमा १० – ९, तेश्रो क्वाटरमा १४ – १० र चौथो क्वाटरमा १२ – ४ ले अग्रता कायम गर्दै जित आत्मसाथ गर्न सफल भएको हो । आर्मीको जितमा दान थिङ्गको २२ अंकको योगदान रह्यो । यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अंकको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो । रनजी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भईन् । तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो ।
बिजयी शीर्ष तीन टिमले क्रमश नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजयी टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेश साँसद लक्ष्मी घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।
बिजयी टिमलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथी राखेपका सदस्य सचिव घिसिङले अपाङ्गता भएको ब्यक्तिहरुको यस्ता प्रतियोगिताले सपाङ्गलाई चुनौती दिएको भन्दै अस्तित्वमा रहेको दुई पारालम्पिक संघलाई एक बनाउँदै अफिसियल रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन परिषदले कदम चाल्ने बताए ।
प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरि ५ टिम तथा महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, बुद्धिसरा इन एक्सन, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।









-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)