क्यानडाद्वारा युएईलाई २५५ रनको लक्ष्य

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा क्यानडाले युएईलाई २ सय ५५ रनको लक्ष्य दिएको छ ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस क्रिकेट मैदानमा खेल जारी रहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८ ओभर ५ बलमा अलआउट हुदै २ सय ५४ रन बनायो ।
क्यानडाका लागि प्रगत सिंहले ९६ बलमा १३ चौका र २ छक्काको सहयोगमा १ सय २ रन बनाए ।
क्यानडाका लागि आफ्नो पहिलो शतक बनाएका सिंहले ९२ बलमा शतक पूरा गरेका थिए ।
निकोलस क्रिटोनले ६४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । श्रीमन्था विजयारत्नेले २८ रन बनाउँदा कप्तान साद विन जाफरले १४ रन बनाए ।
युएईका लागि आयान खानले ३ तथा जुनेद सिद्दिकी र जाहोर खानले समान २/२ विकेट लिए ।
प्रतियोगितामा तेस्रो खेल खेल्न लागेका अपराजित टोली क्यानडा ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
तेस्रो खेल नै खेल्न लागेको युएई १ मा जित र १ मा हार सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।