काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानसँग १-१ गोलको बराबरी खेलेपछि बोल्दै कप्तान किरणले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
भुटानसँग बराबरी खेलेपनि नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले शुक्रबार उपाधिका लागि लाओससँग खेल्नेछ ।
'पहिलो हाफमा केहि कमजोरी भयो । तालमेल मिलेन । मार्क नहुँदा गोल खायौं,' खेलपछि उनले भने, 'हामीले दोस्रो हाफमा राम्रो भयो । फाइनल पुगेको छौँ । फाइनलमा राम्रो गर्छौं ।'
तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपालले पहिलो पटक बराबरी खेलेको हो ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल हारबाट जोगिएको हो ।
निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरे ।
त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
किरणले भुटानविरुद्धको खेललाई खराब प्रदर्शन भन्न नमिल्ने बताए ।
'फुटबलमा गल्तिहरु हुन्छ । त्यसैमा सिक्दै जाने हो । यसलाई खराब प्रदर्शन भन्न मिल्दैन । गल्तीबाट सिक्ने हो । फुटबलमा कहिलेकाही यस्तो हुन्छ,' उनले भने ।
कप्तान किरणले पहिलो हाफमा खेलाडीहरु ओभर कन्फिडेन्स हुँदा खेल बिग्रिएको बताए । जसलाई दोस्रो हाफमा सुधार गरेको उनले बताए ।