इटानगर (भारत)। माल्दिभ्स साफ यु–१९ च्याम्पियनको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न खेलमा माल्दिभ्सले भुटानसँग २–२ को बराबरी खेलेको हो। माल्दिभ्सले पहिलो खेलमा बंगलादेशलाई पनि यही स्कोर लाइनमा रोकेको थियो।
योसँगै समूह ‘ए’ बाट बंगलादेश विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। बंगलादेशसँग पहिलो खेलमा ३–० ले पराजित भएको भुटान भने समूह चरणबाटै बाहिरिएको छ।
माल्दिभ्सका मोहम्मद जावेज र इब्राहिम मोहमेदले गोल गरे। भुटानका ल्हाम तेन्जिङ र छेघल शेराबले गोल गरे।
खेलको ४४औं मिनेटमा भुटाने तेन्जिङको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ७५औं मिनेटमा जावेज माल्दिभ्सलाई खेलमा फर्काए।
दोस्रो हाफको इन्जुरी समयमा इब्राहिमले गोल गर्दै माल्दिभ्सलाई २–१ को अग्रता दिलाए। तर, त्यसको तीन मिनेटपछि छेघलले गोल गर्दै भुटानलाई हारबाट बचाए। तर, भुटान अन्तिम चारमा पुग्न सकेन।