काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध राम्रो बलिङ गरिरहेको छ ।
यूएईले हालसम्म १० ओभरमा १ विकेट गुमाएर २५ रन मात्र बनाएको छ । यूएईका ओपनर मुहम्मद वासिम शुन्य रनमा नै आउट भएका थिए ।
नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् । क्रिजमा अहिले आसिफ खान र वृत्य अरबिन्द रहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेलिरहेको हो ।
यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ ।
लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।
सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च-अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
प्लेअफ क्वालिफायरमा लिग टू का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले आईसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।