मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौं । मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।
खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो ।
पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।
सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे ।
तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसीसहित ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई हराएको थियो । सातदोबाटोलले आर्मीलाई हराएको थियो ।











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)