बुढासुब्बा गोल्डकप भोलिबाट

इलाम । बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ ।
धरान १६ स्थित धरान रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी बारे धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
प्रतियोगितामा काउवार्न बजार प्रगती संघ (केबिपिएस) बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको छ ।
यस पटक पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी उपलब्ध हुने व्यवस्था गरिएको अध्यक्ष किशोर राईले जानकारी दिए । खेल हेर्न आउने ६५ बर्ष उमेर माथिकालाई नागरिकता देखाए निःशुल्क प्रवेश गर्न दिने र अपाङ्गता भएका बालबालिकालाई पनि निशुल्क प्रवेश गर्न दिइने क्लबले जनाएको छ ।
उद्घाटन खेलमा आयोजक र युके एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलको टिम युके एफसी धरान आइसकेको छ । अन्य टिमहरु पनि आउने क्रममा रहेको आयोजकले जानकारी दिएको छ ।
४ हजार भन्दा बढी क्षमताको पक्की प्यारापिट रहेकोले यस संस्करणमा बाँसको प्यारापिट नहुने अध्यक्ष राईले बताए । प्रतियोगिताको लागी यसपालि विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान क्लबको रहेको छ । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने र क्लबलाई मुनाफामा लैजाने लक्ष्य राखेको राईले बताए ।
फागुन २० गते सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने जनाइएको छ । विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ । उद्घाटन समारोहको प्रमुख अतिथि धरानका नगर प्रमुख हर्क साम्पाङ राई रहने छन् ।
कोभिड महामारीसँगै सुरु भएको आर्थिक संकटको कारण विगत दुई बर्ष २३ औं संस्करण हुन सकेको थिएन । २०५५ सालदेखि सुरु भएको गोल्ड कप पहिलो पटक लगातार २ बर्ष रोकिएको थियो ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



