भुटानी क्लबलाई हराउँदै आर्मी सेमिफाइनलमा

इलाम । पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब झापा भद्रपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भुटान प्रिमियर लिग क्लब ड्रुकलाई २–० ले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । दोश्रो रोजाईका खेलाडी सहित मैदान उत्रिएको आर्मीका लागि जितेन्द्र कार्की र शुसान्त चौधरीले गोल गरे ।
खेलको चौंथो मिनेटमा जितेन्द्रले आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । ड्रुकका ट्रेओरेले विप्लवध्वज शाहलाई फाउल गरेपछि पाएको फ्रिकिकलाई जितेन्द्रले जाली चुमाएका थिए । पहिलो हाफमा १–० गोल अन्तर बनाएको आर्मीले दोश्रो हाफमा थप १ गोल गर्न सफल रह्यो ।

खेलको ६५ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार बारमा लागेर फकिएपछि पाएको मौकालाई शुसान्तले सदुपयोग गरे । त्यसअघि आशिष शाक्यको पासमा जिलेस्पीको प्रहार रिबाउन्ड भएको थियो । अग्रता दोब्बर बनाउने मौकालाई आशिषले गुमाएनन् ।
जितसंगै आर्मी सेमिफाइनल पुग्ने तेश्रो टोली बनेको छ । खेलको प्लेयर अफ दि म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए ।
गत महिना सम्पन्न भुटान प्रिमियर लिग ड्रुकले तेश्रो स्थानमा रहँदै समाप्त गरेको थियो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली एपीएफ क्लब र काउबार्न बजार प्रगतीसंघ बंगलादेशबीच हुनेछ ।










%20(1)-1763645320295.jpeg&w=3840&q=75)



