केपी ओली कप : 'ए' डिभिजन लिगको तयारी

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप भोलि बिहीबारबाट सुरु हुँदैछ ।
च्याम्पियनसिपको पहिलो खेलमा सहिद स्मारक 'ए' डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन अघि संस्कृति कार्यक्रम हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
प्रतियोगितामा 'ए' डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगितालाई 'ए' डिभिजन क्लबले लिगको तयारीको रुपमा लिएको छ । उपाधि भन्दा पनि क्लबले लिगको तयारीको रुपमा प्रतियोगितालाई हरेको छ । शीर्ष डिभिजनको लिग फागुन १९ बाट सुरु हुँदैछ ।
नेपाल पुलिस क्लबका कप्तान राम वाजीले यस प्रतियोगितालाई लिगको तयारीको रुपमा लिएको बताए ।
'तयारी राम्रो भएको छ । यो प्रतियोगिता लिगको तयारीको रुपमा हो । लिगलाई मध्येनजर गरेर तयारी गरेका छौँ,' कप्तान रामले प्रि-म्याच कन्फरेन्समा भने ।
सातदोबाटोका कप्तान सुदिप गुरुङले प्रतियोगितामा सबै टोलीलाई कठिन प्रतिद्वन्दीको रुपमा हेरेको बताए ।
'हाम्रो टिम युवा र अनुभवी खेलाडीको छ । सबैले शतप्रतिशत दिएका छौँ । लिग हुँदैछ । त्यसैको तयारी हो यो । सबै टिमलाई उत्तिकै महत्वमा राखेका छौँ,' सुदिपले भने ।

त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले प्रतियोगिताका लागि तयारी राम्रो भएको बताए ।
'तयारी राम्रो भएको छ । हाम्रो सधै ट्रेनिङ हुन्छ । लिग अगाडी प्रतियोगिता हुँदैछ । लिगका लागि फाईदा हुन्छ,' उनले भने, 'हाम्रो लक्ष्य ट्रफी जित्ने हो । नभए टिमको कमीकमजोरी सुधार्ने अवसर हुन्छ । हामी तयार छौँ ।'
न्युरोड टिम एनआरटीका कप्तान बिक्रम धिमालले प्रतियोगिता लिगको तयारीको रुपमा रहेको र आफ्नो टिम सन्तुलित रहेको बताए ।
'डेढ महिनाबाट तयारी गरेका छौँ । बिदेशी खेलाडी आईसकेका छन् । टिम सन्तुलित छ । यो हाम्रो लिगको तयारी समेत हो,' उनले भने, 'ट्रफी जित्ने लक्ष्य पनि छ ।'
केपी ओली एफसीका कप्तान बिक्रम लामाले प्रतियोगिता जित्नका लागि खेली उल्लेख गर्दै आफुहरुको लक्ष्य त्यहि भएको बताए ।
'तयारी राम्रो छ । २३ दिनबाट लगातार ट्रेनिङ गरिरहेका छौँ । युवा र अनुभवी खेलाडी टिममा छ,' आयोजक टोलीका कप्तान लामाले भने, 'प्रतियोगिता जित्नका लागि खेल्ने हो । हाम्रो लक्ष्य त्यहि हो । यो खेलाडीका लागि लिगको तयारी समेत हो ।'
जावलाखेलमा कप्तान सिमान्त थापाले अन्य प्रतियोगितामा नतिजा राम्रो आएको उल्लेख गर्दै यसमा समेत टिमको प्रदर्शन राम्रो हुने बताए ।
'यो हाम्रो लिगको तयारी हो । अन्य प्रतियोगिता खेलिरहेका छौँ । रिजल्ट राम्रो भईरहेकोछ,' थापाले भने ।
प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



