मनिषको गोलमा संकटा सेमिफाइनलमा

इलाम । घरेलु टोली भद्रपुर ब्लेजर्सलाई हराउँदै संकटा क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
मंगलबार घरेलु टोलीलाई १-० गोल अन्तरले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
संकटालाई जित दिलाउन खेलको ५ औं मिनेटमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो ।
खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्र थापा घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।
संकटाले फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र पाहुना टोली डुक ल्यायुल एफसी भुटानबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा बुधबार ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब र चर्च व्वाइज क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
चर्च व्वाइज सोमबार दोश्रो प्रि–क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



