एपीएफलाई हराउँदै मनाङ फाइनलमा

हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा सशस्त्र एपीएफक्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको हो ।
मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मनाङलाइ अन्तिम दुईमा पुर्याउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
खेलको म्यान अफ द म्याच मनाङ मर्स्याङ्दी क्लबका टिम क्याप्टेन दीप कार्की चुनिए। उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तरगत भोली दोस्रो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र एभिनियर एफसी क्यामरुनबीच हुनेछ ।
आयोजकले गोल्डकपको विजेतालाई १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ ।













-1770799852128.png&w=3840&q=75)

