बुढासुब्बाले तिर्यो बक्यौता, २३ औ संस्करण फागुन १३ बाट

इलाम । बुढासुब्बा गोल्डकप आयोजक समितिले २२ औ संस्करणको प्रतियोगिता विजेता तथा उपविजेता टिमको बक्यौता रकम तिरेको छ ।
धरान फुटबल क्लबले शुक्रबार बिजेता मनाङ मर्स्याङ्दी क्लबलाई ७ लाख ५० हजार र उपविजेता नेपाल पुलिस क्लबलाई ५ लाख रुपैया भुक्तानी गरेको हो ।
एन्फाका पूर्व सहायक महासचिव बसन्त अर्यालले मनाङको खाता र नेपाल पुलिसको जुमानु राईको खातामा रकम जम्मा गरिदिएका छन् ।
कोभिड महामारी सुरु भएको वर्ष २०७६ को संस्करणको पुरस्कार भुक्तानी गर्न नसकेपछि धरान फुटबल क्लबले २३ औ संस्करण आयोजनाका लागि मनाङ मस्याङदीसंग रहेको रनिङ शिल्ड फिर्ता लिन सकेको थिएन् ।
बक्यौता रकम तिरेपछि २३ औ संस्करण आयोजनाको बाटो खुलेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ।
‘हामीले कोभिड संक्रमणका कारण प्रायोजकहरुबाट कबोल रकम पाउन नसक्दा क्लबहरुलाई रकम भुक्तानी गर्न सकेका थिएनौ । राखेपबाट ८ लाख र प्रदेश सरकारको १० लाख नपाउँदा संकट थियो ।’ उनले भने ‘ अहिले क्लबले आर्थिक व्यवस्थापन गरेर बक्यौता तिरेपछि २३ औ संस्करणको आयोजना सुनिश्चित भएको छ ।’

धरान फुटबल क्ल्बले एन्फासँग २३ औ संस्करण आयोजना अघि नै बक्यौता तिर्ने सहमती गरेको थियो । सोही अनुसार फागुन १३ गतेबाट एन्फाले क्यालेन्डरमा बुढासुब्बा आयोजनालाई समेटेको थियो ।
अध्यक्ष राईका अनुसार फागुन १३ गतेबाट २० गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा नेपालका ५ र ३ विदेशी क्लबहरु समावेश हुनेछन् ।
सहभागी क्लबको बारेमा पत्रकार सम्मेलन गरेर मात्र नाम सार्वजनिक गर्ने राईले बताए ।










%20(1)-1763645320295.jpeg&w=3840&q=75)



