भारतसँग नेपालको रोमान्चक बराबरी

काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
चेन्नईमा बुधबार राति भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो ।
जवाहरलाल नेहरू स्टेडियममा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग बराबरी खेलेको हो ।
खेलको चारै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता २-० को बनाईन् ।
तर, ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् ।
भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। जसमा सावित्राले सहजै गोल गरिन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ गोलको बराबरीमा ल्याउदै नेपाललाई हारबाट जोगाईन् ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक मैत्रीपूर्ण खेल खेलेको हो ।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



