काठमाडौं । आगामी मंगलबारबाट काठमाडौंमा सुरु हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली आज बिहिबार नेपाल आईपुग्नेछ ।
विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोली आज नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले खेलपाटीलाई बताए ।
'स्कटल्याण्डको टोली आज आउदै छ । नामिबीयाको टोली पनि शनिबार नेपाल आउने छ । सिरिजको अन्तिम तयारी भईरहेको छ ।' पाठकले खेलपाटीसँग भने 'पाहुना टोलीलाई अभ्यासका लागि मुलपानी मैदान तयार गरेका छौ ।'
स्कटल्याण्डले विश्वकप लिग टूको अन्तिम चार खेल नेपालमा खेल्ने छ । लिग टूबाट स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
नेपाल भ्रमणका क्रममा स्कटल्याण्डले आयोजक नेपाल र नामिबियासँग समान २र२ एकदिवसीय खेल खेल्नेछ ।
नामिबियासँग फेब्रुअरी १५ पहिलो खेल खेल्ने स्कटल्याण्डले फेब्रुअरी १७ मा आयोजक नेपालसँग खेल्नेछ । फेब्रुअरी २० मा नामिबियासँग खेल्ने स्कटल्याण्डले नेपाल भ्रमणको अन्तिम खेलमा फेब्रुअरी २१ मा घरेलु टोलीसँग खेल्नेछ
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
स्कटल्याण्डको टोली :
रिची बेरिङटन (कप्तान),काइल कोटजर,म्याथ्यु क्रस (उपकप्तान),क्रिस ग्रीभ्स ज्याक जार्भिस,माइकल लिस्क,टम म्याकिन्टोश,क्रिस म्याकब्राइड,ब्रेण्डन म्याकमुलन,जर्ज मुन्से,सफियान शरीफ,क्रिस सोल,हम्जा ताहिर, मार्क वाट