देशाई नेपालका लागि टिकाउ प्रशिक्षक हुन् - चन्द

काठमाडौं । नेपालका मुख्य प्रशिक्षकका रुपमा नियुक्त मोन्टी देशाईले कार्यकाल पूरा गरेर मात्र जाने विश्वास रहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए छन् ।
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देसाईलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विदेशी प्रशिक्षकहरुले नेपाललाई ट्रान्जिट बनाउने अनि जाने आरोप यस पटक आउन नदिने चन्दले बताए ।
'एउटा आरोप लाग्ने गर्छ नेपालमा कोचहरु आउने ट्रान्जिट बनाउने अनि हिड्ने । त्यो आरोपबाट पनि हामी यो पटक मुक्त हुन्छौं कि भन्ने विश्वास दिलाउन चाहन्छौ ,' चन्दले भने 'समस्या भएकोले हप्ता दिन अघिबाट नेपाली टोलीलाई प्रशिक्षण दिईरहनु भएको उहाँको आज मात्र साक्षात्कार गराउने अवसर मिल्यो । सरकारी काम तथा विभागिय मन्त्री नहुँदा यि समस्या आएका हुन् ।'
क्यानले देशाईसँग २ वर्षको सम्झौता भएको पनि बताएको छ । उनले कम्तिमा पनि २ सय ४० दिन नेपाली क्रिकेटका लागि दिने छन् ।
क्यान अध्यक्ष चन्दका अनुसार नेपालमा विगतमा पनि कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा काम गरेकाले देशाईलाई रोजिएको बताए ।
'निकै छलफलपछि नेपाली क्रिकेटको भविष्यलाई हेरेर हामीले उहाँलाई नियुक्त गरेका छौं । अबको हाम्रो चुनौती भनेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउने हो ,' चन्दले भने 'त्यसका लागि विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ८ वटा खेलमा सुखद नतिजा निकाल्ने हो ।'
देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।
क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए ।
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।











-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
