काठमाडौं । सर्वोच्च अदालतले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन (सबै कागजात) झिकाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले शुक्रबार सन्दीपविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन मागको आदेश दिएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदनको सुनुवाई गर्दै न्यायाधीश फुयाँलले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशसम्मका कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन् ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
सन्दीप नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भईसकेका छन् । नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा राखेको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।