क्यान निलम्बनको खतरा

काठमाडौं । आफै मुख्य आयोजक रहेको नेपाल टी ट्वान्टी लिग प्रतियोगिता स्पट फिक्सिङ, बेटिङ र म्याच फिक्सिङ जस्तो अपराधमा फसेपछि आयोजक संस्था नेपाल क्रिकेट संघ (क्यान) रक्षात्मक अवस्थामा आईपुगेको छ । नेपाली क्रिकेटको भविष्य बदल्ने दाबी सहित सुरुआत गरिएको फ्रेन्चाईज क्रिकेटको पहिलो संस्करणमा क्यानको साझेदार संस्था र ब्यक्ति फिक्सिङ जस्तो खेल अपराधमा संलग्न देखिएपछि क्यानका जिम्मेवार पदाधिकारीनै अनुसन्धानको घेरामा तानिएका छन् । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको सार्वजनीक रुपमा बोलेपनि नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमै बदनाम गर्ने र क्रिकेटमाथि कालो धब्बा लगाउने क्यानको नेतृत्वले सहजै छुट पाउने अवस्था देखिदैन ।
नेपाल टी ट्वान्टी लिगमा देखिएको अनियमितता र फिक्सिङको घटनालाई राज्यका तीन जिम्मेवार निकायले अनुसन्धानको दायरमा तानेका छन् । क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत घटनालाई सुष्म ढुङ्गले अध्ययन, अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले फिक्सिङमा संलग्न दुई खेलाडीलाई पक्राउ गरेर सार्वजनीक गरिसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतियोगिताका देखिएको नीतिगत भ्रष्ट्राचारमाथि अनुसन्धानको फाइल अघि बढाईरहेको छ । घरेलु खेलकुदको प्रमुख कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले समेत कार्यकारी बोर्ड सदस्यको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेर घटनामाथिको दृष्टिकोण र निष्कर्श बाहिर ल्याईसकेको छ । सुरुवातदेखिनै विवाद र शंकाको घेरामा देखिएको प्रतियोगितामा हुन सक्ने गल्तीको नैतिक र कानुनी जिम्मेवारी लिने बताएका अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्रशान्त बिक्रम मल्लले सजिलै उम्किने पाउने अवस्था छैन ।
सिआईबी, अख्तियार र आईसीसीले प्राविधिक र कानुनी रुपमा घटनामाथि अनुसन्धान गरिरहेको छ भने राखेपको छानबिन कार्यदलले अनुसन्धान सकेर प्रतिवेदन बुझाईसकेको छ । कार्यदलको निष्कर्श छ, क्यानले विदेशी कम्पनीसँग गरेको सम्झौतामा ऐन, नियम र कानुनको पालना भएको देखिदैन । प्रतिवेदनले सम्झौता लगायतको विषयमा खेलकुद ऐन २०७७ को दफा २८ र दफा २४ को (२) को पालना नभएको बताएको छ ।
ऐनको दफा २८ मा कुनै विदेशी संघ संस्थाहरुसँग खेलकुद सम्बन्धी विषयमा समझदारी दर्ता मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख छ । र दफा ४४ को (२)मा राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीय स्तरका खेल सम्बन्धी संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तराष्ट्रिय संघ संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा परिषद् मार्फत नेपाल सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ । राखेपको कार्यदलले सम्झौता गर्दा क्यानले दुवै दफाको नियम उल्लंघन गरेको निष्कर्श निकालेको छ । र कार्यदलले प्रस्तुत घटनाबाट ऐनको दफा २९ आकर्षित हुने बताएको छ ।
दफा २८ मा संघ निलम्बनको प्रावधान छ ।
सो दफाको (२)मा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनाका लागि निलम्बन गर्न सक्ने उल्लेख छ । सोही दफाको (४)मा कुनै संघको उपदफा (२) बमोजिमको अवधिसम्म निलम्बन फुकुवा नभएमा परिषद्ले त्यस्तो संघमा कायम रहेको कार्य समिति भंग गरी तीन महिनाभित्र अर्को कार्यसमिति निर्वाचन वा गठन गर्नुपर्ने शर्त तोकी त्यस्तो संघको तदर्थ कार्यसमिति गठन गर्न सक्ने बताएको छ ।
परिषद् स्रोतका अनुसार राखेपको वर्तमान नेतृत्व कार्यदलको सोही सुझाव अनुसार अघि बढ्न खोजिरहेको छ । कार्यदलको सुझाव अनुसार राखेपले क्यानको वर्तमान कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमितिमा जाने सोच बनाएको छ । परिषद् स्रोतका अनुसार राखेपले यसका लागि अहिले अन्तराष्ट्रिय क्रिकेट परिषद्सँग सम्पर्क गर्ने, समन्वय गर्ने र विश्वासमा लिने काम गरिरहेको छ ।
‘नेपाली क्रिकेटमा देखिएको समस्याको जडनै वर्तमान कार्यसमिति देखिन्छ । यसमा सरकारले गर्ने कारबाही राजनीतिक रुपमा प्रेरित छैन भन्ने हिसाबले आईसीसीलाई विश्वासमा लिने काम भैरहेको छ ।’ परिषद् स्रोतले खेलपाटीसँग भन्यो, ‘आईसीसीबाट नेपाली क्रिकेट निलम्बन नगरोस् तर उसलाई विश्वासमा लिएर वर्तमान कार्यसमिति भंग गरेर क्रिकेटमा नयाँ नेतृत्व ल्याउने योजना देखिन्छ ।’
बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई फ्रेन्चाईज क्रिकेटको व्यवसायीक अधिकार र रणनीतिक साझेदार बनाउने कदमको सुरुआतबाटै विवाद भएको थियो । सम्झौतालाई लिएर अदालतमा मुद्धा समेत छ । तर विवाद र शंकाको घेरामा रहेको प्रतियोगितालाई क्यानको नेतृत्वले ढाकछोप गर्दै अघि बढाएको थियो । प्रतियोगिता चलिरहको अवस्थामा स्पट फिक्सिङ र बेटिङको घटना सार्वजनीक भएपछि प्रतियोगिता थप विवादको घेरामा तानिएको थियो । कमेन्टेटर सचिन तिमिल्सिनाले प्रतियोगिता सञ्चालनको दौरान स्पट फिक्सिङ भएको आरोप लगाउँदै काम छाडेका थिए भने पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका सदस्यलाई फिक्सिङको प्रस्ताव आएको भन्दै सार्वजनीक रुपमा बोलेका थिए । त्यसपछि प्रतियोगिता छानविनको दायरामा तानिएको थियो ।
सिआईबीको छानबिनबाट फिक्सिङमा संलग्न पदाधिकारी र खेलाडी सार्वजनीक भएका थिए भने राखेपको छानबिनमार्फत क्यान र सेभेन थ्री स्पोर्टसको सम्झौतानै कानुनी रुपमा गलत भएको निष्कर्श निस्किएको थियो । प्रहरीको अनुसन्धानमा राष्ट्रिय टिमका अलराउण्डर आदील अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम फिक्सिङको घटनामा संलग्न रहेको भेटिएका थिए ।
आफु मातहतको संस्था क्यानले ऐन नियम उल्लंघन गरेको र फिक्सिङ जस्तो जघन्य खेल अपराधमा मुछिएपछि राखेप नेतृत्वले कडा कदम चाल्ने संकेत गरेको छ । आईसीसीलाई विश्वासमा लिएर चाँडै क्यानको वर्तमान कार्यसमिति भंग गरेर नयाँ कार्यसमिति गठन गर्ने तयारी राखेप नेतृत्वको देखिन्छ ।
‘अब फोन सम्पर्कमा सिमित रहेको आईसीसी र नेपाल सरकारको चासोलाई औपचारिक रुपमा भेटेर नेपाली क्रिकेटमा देखिएको समस्याको हल गर्ने सोच राखेप नेतृत्वमा देखिन्छ । चाँडै नेपाली क्रिकेटमा प्रशासनीक नेतृत्वमा फेरबदल हुन सक्छ ।’ परिषद् स्रोतले भन्यो ।














