काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्ध १४ वर्षपछि जित निकाल्न पाउँदा आफु निकै खुशी भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको मैत्रीपूर्णमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।
जितपछि बोल्दै प्रशिक्षक कटुवालले जितमा खुशी रहेको बताउँदै जितको श्रेय खेलाडीलाई जाने बताए ।
'पक्कै पनि म एकदम खुशी छु । किनभने यो मेरो पहिलो अवसर थियो । बिगत लामो समयबाट नेपालले पाकिस्तानलाई जित्न सकेको थिएन । १४ वर्षपछि जितियो । यो जितको सम्पूर्ण श्रेय खेलाडीलाई जान्छ,' उनले भने ।
नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानविरुद्ध जित निकालेको हो ।
नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे ।
'हामीले १२ दिन मात्र ट्रेनिङ गरेका थियौं । समग्रमा १-० को जितमा सन्तुष्ट छु,' मुख्य प्रशिक्षक कटुवालले थपे ।
नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो डेब्यु खेलमै नेपाललाई जित दिलाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।