काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।
पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो । तर, नेपालले एक खेलको लागि सहमति जनाएको हो ।
पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५० औं खेल हुनेछ ।
नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो ।
नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हो ।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेल जितेको छ ।
पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।
साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।