काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेड र फिफा एसी हायस डिलक्स यातायात प्रालिबीच सम्झौता भएको छ ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले सोमबार फिफा हायससँग यातायात पार्टनरको रुपमा सम्झौता गरेको हो ।
चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई र उपाध्यक्ष जनारन्जन देवकोटा र फिफा यातायातका अध्यक्ष सबिन डाँगी, कोषाध्यक्ष रमेश खड्का र निर्देशक चन्द्रकाजी गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
चर्च ब्वाइज र फिफा यातायातबीच एक वर्षको लागि सम्झौता भएको हो ।
सम्झौतासँगै फिफा यातायातले चर्च ब्वाइजलाई आठ लाख बराबरको यातायात सुविधा उपलब्ध गराउनेछ ।
यस्तै लिग खेल्ने चर्च ब्वाइजको जर्सीमा फिफा यातायातको लोगो प्रयोग गरिनेछ ।
फिफा यातायातले चर्च ब्वाइज क्लबको लोगो तथा खेलाडीको तस्वीर आफ्नो मातहतको बसमा प्रयोग गर्न पाउनेछ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।