काठमाडौं । एन्फा फुटबल खेलाडी संघले क्यान्सरको उपचार गराईरहेका फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचार्थ सहयोग गर्न माग गरेको छ ।
एन्फा खेलाडी संघका अध्यक्ष बिक्रम लामाले सोमबार सहयोगको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् ।
१३ औं सागको पुरुष फुटबलमा स्वर्ण विजेता तथा यू-१८ साफ च्याम्पियनसिपमा स्वर्ण विजेता टोलीका सदस्य प्रिजेन ब्लड क्यान्सरको उपचार गराईरहेका छन् ।
'प्रिजेन हाल ब्लड क्यान्सर जस्ता घातक रोगबाट ग्रसित भई पुन: स्वस्थ हुनको निम्ती उपचाररत हुनुहुन्छ । हामी सम्पूर्ण सिंगो फुटबल खेलाडी जगत उँहाको सिघ्र स्वास्थलाभको कामना गर्दछौं । उहाको उपचारको निम्ती सहयोग गरिदिन बिनम्र अनुरोध गर्दै हाम्रो अभिभावक संस्था अखिल नेपाल फुटबल संघ समक्ष निवेदन पत्र पेश गरेका छौँ,' संघले फेसबुक पेजमार्फत भनेको छ ।
प्रिजेनले भारतको एक अस्पतालमा क्यान्सरको उपचार गराईरहेका छन् ।