काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । सहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षको प्रायोजन सम्झौता गरेको हो ।
आईतबार क्लबका महासचिव तेन्जिङ गुरुङ र केटीएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्लबका अनुसार सम्झौताको अवधि दुई वर्षको रहेको छ । क्लबलाई आवश्यक पर्ने सम्पुर्ण किट सामाग्री केटीएम सिटीले प्रायोजकको रुपमा उपलब्ध गराउने बताईएको छ ।
केटीएम सिटी गत वर्ष समेत मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक रहेको थियो । मनाङले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केटीएम सिटीको किट प्रयोग गर्ने सम्झौतामा उल्लेख छ ।
नेपालको आफ्नै ब्राण्ड केटीएम सिटीसँग जोडिन पाउँदा क्लबले खुसी महशुश गरेको मनाङ मर्स्याङ्दी क्लबका महासचिव तेन्जिङ गुरुङ्गले बताएका छन् ।
नेपाली फुटबलको सर्वाधिक सफल क्लबको रुपमा रहेको मनाङले आसन्न घरेलु फुटबललाई लिएर तयारी समेत अघि बढाएको जनाएको छ ।