पोखरा । बृहत नवौं राष्ट्रिय खेलकुदको रौनकले अहिले पर्यटकीय नगरी पोखरा रमेको छ । खेलकुदको सबैभन्दा ठुलो महाकुम्भले सिङ्गो गण्डकी प्रदेश देशको खेलकुदको प्रमुख आकर्षणको केन्द्र बनिरहँदा नेपाली खेलकुदको तस्बिर कस्तो छ भन्ने उत्सुकता आम खेलकुदप्रमीमा छ । प्रत्येक दुई बर्षमा हुने यो महोत्सब नेपाल सरकारले आयोजना गर्ने सबैभन्दा ठुलो खेल इभेन्ट हो । भर्खरै नेपालीको महान चार्ड बडादशैं सकिएको छ, तिहार संघारमा छ । तर खेल क्षेत्रको लागि महत्वपूर्ण चार्ड बल्ल सुरु भएको छ, राष्ट्रिय खेलकुदको रुपमा ।
सुदूरपश्मिमको बाजुरा जिल्ला, बुढीनन्दा नगरपालिका १ मटेलामा स्थायी बसोबास भएका बिमला बुमी र कर्ण बहादुर बुमिकी छोरी रीतिका बुमी अहिले सात बर्षकी भईन् । उनै रीतिका पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदकी सबैभन्दा कान्छी खेलाडी हुन् । उनी पौडीकी खेलाडी हुन् ।
६१ बर्षका धनबहादुर घले स्क्वास खेलाडी हुन् । उनी नवौं राष्ट्रिय खेलकुदका सबैभन्दा पाका खेलाडी हुन् । एउटै राष्ट्रिय खेलकुद प्रतियोगिताको मञ्चमा उभिरहेका यी दुई फरक पुस्ताका खेलाडीको समानता एउटा कुरामा आएर जोडिन्छ, त्यो हो प्रेरणा । जुन आफुले लिए, अरुलाई दिदैछन् । र भविष्यमा धेरैले लिनेछन् ।
करिब २५ बर्ष सिंगापुर प्रहरीमा सेवा गरेर नेपाल फर्किंदा जीवनको यो उत्तरार्धमा आएर उदाहरण बनिएला भनेर न त धन बहादुरले सोचेका थिए, न त आफ्नो बारेमा अरुबाट थाहा पाउने उमेरमा आफै अरुको लागि उदाहरण बनेको रितिकालेनै सोचेकी छन् । खेलकुदनै यस्तो कडी बन्यो, जसले यो फरक समयरेखालाई एउटै दर्पणमा देखाएको छ ।
रीतिकाकी आमा बिमला बुमी आफै पौडीकी खेलाडी थिइन् । आफुले ठुलो स्तरमा खेल्न नपाएपनि अब आफ्नो सम्पूर्ण सपना छोरीमार्फत पुरा गर्ने उनको चाहना छ । ’अस्ति भर्खर एनएससी ओपन च्याम्पियनशिपमा आफ्नो समुहमा र खुल्लामा गरि रीतिकाले दुई स्वर्ण, दुई रजत र दुइ कास्य जितेकी थिईन् । ‘सानो बच्चानै छ, अलिकति नर्भस भैरहेको छ ।’ जारी राष्ट्रिय खेकुदमा आफ्नो इभेन्ट सकेर पुलबाट बाहिर आएकी छोरीलाई स्याहार्दै गर्वको भाषामा बिमला भन्छिन्, ‘यहि त हो खुसी, सन्तुष्टि, आनन्द । तपाइ जे नाम दिनुस । अर्थ एकै हुन्छ ।’
२०७२ को असोजमा काठमान्डौमा जन्मिएकी रीतिकाको परिवार भक्तपुरमा बस्छ । उनका बुवा कर्ण बहादुर नेपाली सेनामा कार्यरत छन् । बुझ्ने उमेर भएदेखिनै सैनिक आवासीय महाविद्यालयको सेरोफेरोसँग नाता गास्ने मौका पाएकी रीतिकाको पौडीमा रुची बढ्नुको कारण पनि यहि वाताबरण थियो । घर नजिकैको पुलमा मानिसहरु पौडीरहेको देख्दा बालक मनमा रहर पलायो । उनको यो रहरलाई अविभावकले पनि मर्न दिएनन् । उनकी आमा बिमला त अहिले रितिकाको प्रशिक्षक, व्यावस्थापक सबै आफै हुन् । आमाबुबाको मार्गदर्शन बमोजिमनै उनी पनि स्विमिङ्गलाई निरन्तरता दिएर भविष्यमा देशकै लागि पदक जित्ने सपना बुन्छिन् ।
उनको घरमा मात्र होइन, उनी पढ्ने बिद्यालय पनि उनको भविष्यप्रति सजक छ । व्यक्तिगत रुपमै उनलाई गाइड गर्ने काम शिक्षकले गर्छन् । बिमला आफैले उनको टेक्निक सुधार्न भन्दै पौडी सिक्न सातदोबाटो पठाइन् । रीतिकाले आफ्नो भन्दा दोब्बर उमेरका लिंकन स्कुलका खेलाडीलाई टक्कर दिदै ५३ दशमलब ११ को टाइमिंग राख्दै रजत पदक हासिल गरिन् । त्यहाँबाट निसर्ग बाटिका स्कुलमा ४९ दशमलब ३३ टाइमिंगको ’बेस्ट पर्फर्मेन्स’ दिदै बटरफ्लाईमा रजत र ब्याकस्ट्रोकमा कास्य जितिन् । सम्झिनलायक कुरा यो सबै रीतिकाको पहिलो प्रतिष्पर्धा थियो ।
सुदुर पश्चिमको बाजुराबाट आजसम्म राष्ट्रिय स्तरमा कसैले कुनै क्षेत्रमा छाप छाड्न नसकेको कुराले बुमी परिवारलाई असाध्यै पोल्छ । त्यही परिवेश बदल्न पनि रीतिकाको भविष्य उज्यालो बनाउनेतर्फ बुमी दम्पति दृढ छ ।
सैनिक आवासीय महाबिद्यालयमै छदा खेलकुदसंगको सामिप्यता उनमा बिकाश भयो । स्विमिङ्ग, तेक्वान्दो, एथलेटिक्स जस्ता खेलमा उनले सिक्ने मौका पाइन् । लिङ्कन स्कुलमा भएको एउटा प्रतियोगितामा उनको काँधमा चोट लाग्यो तर उनले त्यसका बावजुत पनि हार मानिनन् । यो त्यही दिन थियो, स्विमिङ्गप्रति उनको लगाव देखेर उनका अभिभावकले उनका लागि स्विमिङ्ग रोजिदिए । रीतिका नेपालकी सुपरस्टार गौरिका सिंहलाई आफ्नो प्रेरणाको स्रोतको रुपमा लग्छिन् । उनलाई भविष्यमा ठुलो भएर गौरिका जस्तै बन्नु छ । उनले जस्तै देशको लागि पदक जित्नु छ । सायद यहि सपना हो जसले बुमी परिवारलाई प्रष्ट बनाएको छ ।
नेपाली खेलकुदमा अभिभावकको भूमिकाको बिषयमा धेरै परिचर्चाहरु सुन्न पाइन्छ । प्रत्येक खेलाडीको खेल जीवन पछाडी उनीहरुको पारिवारिक पृष्ठभूमि जोडिएको छ । कसैसँग राम्रा अनुभव छन्, कसैसँग नराम्रा । तर समग्रमा खेलकुद खेल्नका लागि मात्र नभई यो एक सपना पनि बन्न सक्छ, लक्ष्य अनि संकल्प पनि बन्न सक्छ भन्ने उदाहरण हुन् नवौं राष्ट्रिय खेलकुदकी कान्छी खेलाडी रीतिका बुमी ।
भर्खर खेल जिवनको पाइला उचाल्दै गरेकी रीतिकालाई उमेर सँगसँगै शारीरिक र मानसिक ’प्रोग्रेस’ चाहिने कुरामा आमा बिमला प्रष्ट छिन् । यसको लागि संधै आफ्नो प्रशिक्षणले मात्र नपुग्ने उनको बुझाई छ । आवश्यकता अनुसार व्यक्तिगत प्रशिक्षक राखेर अभ्यास गराउने योजना पनि उनको छ ।
यता, रीतिकाको खेल जीवनले सुरुवाती पाइला चाल्दै गर्दा नवौं राष्ट्रिय खेलकुदका सबैभन्दा पाका खेलाडी धन बहादर घलेका पाइला भने सकुशल आरामका लागि अब आगन खोज्दैछन् । २०१७ साल बैशाख ५ गते संखुभासभा जिल्ला, खाँदबारी नगरपालिकामा एक भारतीय सेनामा कार्यरत जवानको घरमा घलेको जन्म भयो । उनले धेरै पढेनन् । सात कक्षा पास गरेर मात्र १७ बर्षको उमेरमा उनी ’लाहुरे लाग्ने’ पुख्र्यौली चलनलाई निरन्तरता दिनेक्रममा सिंगापुर प्रहरीमा भर्ती भए ।
सन् २००७ मा रिटायर्ड हुनु अघि आफ्नो सम्पूर्ण स्क्वाश करियर उनले सिंगापुरमा बिताए । नेपालको भन्दा माथिल्लो दर्जाको स्क्वासलाई उनले खेले । आफ्नो युवा अवस्थामा सिंगापुरका विभिन्न प्रतियोगिता खेले । उनले सुनाए, ’उता ६ महिनाको लिग हुन्थ्यो । यदाकदा नेपालमा स्क्वास खेलिन्छ रे भन्ने सुन्न पाइन्थ्यो होटेलमा । एम्बेसीमा खेलिन्थ्यो । सातदोबाटो स्क्वास बनिसकेको थिएन । छुट्टीमा घर आउँदा कहिल्यै प्रतियोगिता पाइएन । किनकी पूर्वमा स्क्वासको भौतिर संरचना नै थिएन । काठमाडौं आएर साथी भाईसँग रमाइलोको लागि खेलिन्थ्यो ।’
त्यो बेला सिंगापुर प्रहरीमै कार्यरत इन्स्पेक्टर ध्रुब बहादुर गुरुङ जस्ता पुराना हस्तीबाट घलेले स्क्वास सिके । रिटायर्डपछि नेपाल आएर स्क्वास नखेली पनि बसे । तर ब्याडमिन्टन भने उनले खेलिरहे । अहिले राष्ट्रिय खेलकुदको लागि पूर्वमा खेलाडी अभाव भएको हुँदा संघले नै अनुरोध गरेपछि प्रदेश एकलाई प्रतिनिधित्व गर्दै ६२ लागेका घले पोखरा आएका हुन् । यसमा उनी निकै खुसी छन् । ’आएर खेलियो, आफ्ना नाती पुस्तासँग खेलेर हार्नुको पनि छुट्टै आनन्द हुदोरहेछ’, घले हाँस्छन । आफुहरु जस्ता अग्रजहरुले नै पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उनको धारणा छ ।
उनले धरानमा कोर्ट बनाएर खेलाडी उत्पादन गर्ने नसोचेका होइनन् । यसका लागि कमिटि पनि गठन गरे । तर तत्कालिन संघका अध्यक्षको निस्कृयताले यो काम पुरा हुन सकेन । अहिलेपनि केन्द्रमा धेरै प्रयास गरिरहेका छन् । उनलाई लाग्छ, नयाँ पुस्ता उत्पादन गरे मात्र स्क्वासको बिकाश हुन्छ । खेलाडी उत्पादनको लागि राज्यको संयन्त्रबाटै प्रयास हुनुपर्ने उनको ठम्याई छ ।
रीतिका बुमी र धन बहादुर घले दुई फरक पुस्ताले बाँडेको आ आफ्नो ’टाइमलाइन’ले समग्रमा उस्तै सन्देश दिन्छ । दुई फरक ऐनाको एकै प्रतिबिम्ब हुन् । खेल र खेलाडीको अर्थपुरक सम्बन्ध जसमा उमेर मात्र एउटा अंक भैदिन्छ र इच्छाशक्ति अनन्त ।