काठमाडौं । अब त दिक्क लाग्न थालिसक्यो । कहिलेकाहीँ त 'विश्लेषक' होइन एउटा आम 'समर्थक' बनेरै नेपाली फुटबललाई हेर्न मन लाग्छ । बुझ्न मन लाग्छ । बोल्न मन लाग्छ । र, सायद आज त्यही आम समर्थक बोल्नेछ ।
कुनै फिल्म हुन्छ नि जुन सुरुदेखि नै मजा आइरहेको हुन्छ हेर्दा । राम्रो सिनेमाटोग्राफीले बाँधेर राखेको हुन्छ कहानीसँग । कमी केहि कुराको हुँदैन । राम्रो कास्टिङ, बिजिएम, डाईलग, स्टोरी टेलिङ, एङ्गल सबै क्या गजब भईरहेको हुन्छ । यस्तो लाग्छ यो फिल्म नसकियोस । अझ क्लाइमेक्स त झन् यति राम्रो भईदिन्छ कि यसले एन्डिङ प्रतिको उत्साहलाई थप बढाएको हुन्छ । कहानीको सुन्दर समाप्तिको लागि हेर्ने दर्शकको अपेक्षा बढाईदिन्छ ।
तर, के हुन्छ जब त्यही फिमको एन्डिङ अन्तिममा आएर सबैभन्दा झूर भईदिन्छ । यस्तो बेकार की तपाईको अहिलेसम्मको सारा मजा एकपलमै खत्तम पारिदिन्छ । त्यो बेला कस्तो महसुस हुन्छ तपाईलाई ? दुख लाग्छ, आक्रोशित बनाउँछ, चुक्चुकाउन मन लाग्छ, रिस उठ्छ, निराशा उत्पन्न हुन्छ । मानिसको भित्र हुने सबै संवेगहरु, भावनाहरु सबै बाहिर आउँछ ।
छैटौं महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको कहानी झुर एन्डिङले खल्लो बनाएको त्यो फिल्म जस्तै बनेको छ । जसको क्लाइमेक्सलाई मात्र 'इन्जोय' गरियो ।
पहिलो पटक साफ उपाधि जितेर, १५ हजारभन्दा बढी घरेलु दर्शकको अगाडी दशरथ रंगशालामा 'वीर गोर्खाली' शैलीमा राष्ट्रिय झण्डा फहराउदै ट्रफी उचाल्ने नेपालको सपना त्यही बेमौसमी झरीमा पखालियो । जुन झरीले दशरथ रंगशाला निथ्रुक्क पारेको थियो ।
जसले सेमिफाइनलमा भारतलाई पराजित गरेर इतिहास रच्यो, अपराजय यात्रामा १ गोल पनि उसलाई कसैले प्रहार गर्न सकेन, जसको पछाडी 'गोर्खाली शक्ति' बनेर हजारौं भिड उभिएको छ त्यस्तो टोली निर्णायक मोर्चामा अन्तिममा गएर बंगलादेशसँग ३-१ ले हार्नु पनि कुनै फिल्मको झुर एन्डिङ भन्दा कम कहाँ छ र ।
हो आज सायद एउटा आम समर्थक सोध्नेछ । के नेपाललाई फाइनल श्रापनै भएको हो त ?
महिला फुटबल त अहिले प्रतिनिधि टोली मात्र हो । पुरुषतर्फ पनि हालत फरक छैन । त्यसो भए अब के गर्नु पर्ने हो साफ फाइनल जित्न ? आकाश धर्ती तलमाथि नै पार्नु पर्ने त होइन ?
खेल विश्लेषण: फाइनलमा 'एक्स्पोज' भएको कमजोर डिफेन्स
'आजैको दिनदेखि म यो टिम छोड्छु,' फाइनल लगत्तै प्रशिक्षक कुमार थापाले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पूरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन ।'
नेपालले फाइनल गुमाउला न त कुमारले सोचेका थिए न त उनको टोलीले । सक्ने सम्मको सबै मेहनत गरेको थियो नेपालले । किनकि यसपटकको साफले कुनै 'एक्सक्युज' छाडेको थिएन । उनले तयारीमा कहिल्यै कमी भनेनन् । पहिले जस्तो भारत नामको बाधालाई पनि पार गरिसकेको थियो । घरेलु भूमिमा दर्शकको भरपुर समर्थनका बाबजुद नेपालले पाँचौ पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेन ।
कुमारले प्रतियोगिता सुरु हुनुअघि देखिनै बारम्बार भन्दै आइरहेका थिए, 'हामीले साफ जित्ने हो भने गल्तिहरु कम गर्दै जानु पर्छ ।'
कुमारको यो साफ जित्ने मन्त्र थियो भन्दा फरक पर्दैन । किनकि कुनै गल्ति नै नगर्ने हो भने त जितिन्छ पनि । तर फाइनलमै आएर यस्तो गल्ति कसरी हुन पुग्यो त्यो उनलाई पनि थाहा छैन । उनी मात्र के कसैलाई थाहा छैन । स्वयं मैदानमा भिडीरहेको टोलीलाई पनि थाहा छैन ।
नेपाल (पुरुष-महिला) लाई फाइनल किन यस्तो कठिन हुने गर्छ भन्ने प्रश्नको ठोस उत्तर भेट्न मुस्किल छ । तर यसपटकको साफ फाइनलमा यो उत्तर सजिलै पाइन्छ । त्यो हो बंगलादेश ।
फाइनल खेलमा कुनै त्यस्तो क्षण आएन जहाँ नेपालले बंगलादेश भन्दा उत्कृष्ट खेल देखायो । र, यदि जित्नु छ भने तपाई उत्कृष्ट हुनुपर्छ । यसमा कुनै दुईमत छैन नेपालको खेल पनि राम्रो थियो । तर, फाइनलमा राम्रोले मात्र पुग्दैन उत्कृष्ट हुनै पर्थ्यो ।
बंगलादेशको बारेमा यस अघिका लेखमा उनीहरुको प्रगति, महत्वाकांक्षाको बारेमा धेरै पटक चर्चा भईसकेको छ । त्यही शिलशिलाको एक पाटो मात्र हो साफको फाइनल । प्रशिक्षक गोलोम रबानिलाई किन बंगलादेशी महिला फुटबलको अग्रणी व्यक्तित्व मानिन्छ भन्ने उनले देखाएका छन् । पहिलो पटक च्याम्पियन बनेर । सन् २००९ देखि विभिन्न उमेर समूहबाट नै हुर्काउदै, मलजल गर्दै ल्याएको उनको यो टोलीले अन्तत : साफ जितेर उनलाई उनको जीवनकै सबैभन्दा ठुलो उपहार दिएको छ । यसका लागि उनीहरुले कति वर्ष तपस्या गर्नु पर्यो आफै हिसाब गर्नुस ।
फाइनल खेलमा पहिलो गोलले ठुलो महत्व बोक्छ । जसले पहिलो गोल गर्छ त्यो टोली खेलमा हाबी हुन पाउँछ । बंगलादेशले पहिलो गोल गर्दा नेपालको कमजोर डिफेन्स एक्स्पोज भयो ।
खेल सुरु भएको १० मिनेटमै अचानक गोलोमले अनुभवी मिडफिल्डर मोसमत जहा सोप्नलाई बाहिर बोलाए । उनले पछिल्लो खेलमा चोट बोकेकी थिइन् तरपनि उनलाई सुरुआत गराइएको थियो । गोलोमले उनको स्थानमा साम्सुनाहार जुनिएरलाई मैदानमा पठाए । यो उनको आश्चर्यजनक कदम थियो । तर गोलोमले आफ्नो निर्णयमा बिश्वास गरे । ठिक यहिँ क्षणबाट नै खेल नेपालको हातबाट गुम्न सुरु भईसकेको थियो । साम्सुनाहार मैदान प्रवेश गरे लगत्तै आफ्नो प्रभावशाली प्रदर्शन देखाउन थालिन । बिशेष गरि उनको पेसले नेपाललाई सबैभन्दा धेरै दु:ख दियो ।
साम्सुनाहार १९ वर्षकी भईन । कलसिन्दु प्राथमिक विद्यालयबाट फुटबलमा आएकी हुन् । उनी फुटबल खेले बापत पाएको पैसाले परिवार चलाइरहेकी छिन् । उनका बुवा बिरामी छन् । दाइले ट्रक चलाउँछन् । उनी खेल पाएको पैसा परिवार खर्चका लागि बुबालाई दिन्थिन ।
साम्सुनाहार जुनियरले २०१४ मा बंगमाता प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जितिन् । २०१५ मा प्लेयर अफ द टुर्नामेन्टको ट्रफी जितिन् ।
अहिले साफ विजेता बनेकी छिन् । फाइनलमा नेपालको डिफेन्सलाईन बिशेषगरि हिरा कुमारी भुजेललाई उनले तोडिन भन्दा फरक पर्दैन । उनको मुभमेन्ट यति फ्लेक्जिबल थियो कि उनी आरामसँग डिफेन्स बाइपास गर्दै पोजिसनमा जान सक्थिन । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरेर बंगलादेशलाई अग्रता दिलाइन ।
साम्सुनाहारले फिनिस गर्नुअघि त्यो क्रसलाई रोक्न नेपाल असफल भयो । नेपालले पाएको थ्रो इनमा हिरा कुमारी भुजेल सरुलाई भेट्न चाहन्थिन । कर्नरको नजिक सायदै कुनै थ्रो इन आफ्नै हाफमा दिने गल्ति कसैले गर्छ । जबकी सरुलाई संगसंगै मार्क गर्दै संजिदा अख्तर पनि आइरहेकी थिइन् । सरुको फर्स्ट टच कमजोर रह्यो । हिरासँग च्यानल मिलाउन सकिनन् त्यसको मौका संजिदाले उनीहरुको बीचबाट तत्काल बल जित्दै अगाडी बढीन । संगै रहेकी खतरनाक मोनिका चक्माले आफुलाई अनलोड गरिन । पहिलो क्रस ब्लक हिरा कुमारी भुजेलले ब्लक गरिन तर मोनिका आफ्नो उत्कृष्ट स्किलले सरु र हिरा दुबैलाई मात दिदै क्रस निकाल्न सफल भईन ।
मोनिका चक्माको क्रसलाई साम्सुनाहारले पहिलो टचमै पोस्टको दिशा दिइन् । कप्तान एन्जिला तुम्बापो सुब्बालाई रियाक्ट गर्ने कुनै समय थिएन । अचम्म त के छ भने साम्सुनाहार जुन पोजिसनमा थिइन् उनकै अगाडी नेपालको प्रमुख सेन्टरब्याक जोडी गीता राना र पुनम जर्घा थिए । उनीहरु दुबैजनाको माथिबाट साम्सुनाहारले गोल गरिन । उनीहरुले पत्तै पाएनन् साम्सुनाहारलाई कसले मार्क गर्ने र उनी कसरी त्यहाँ आईपुगिन ।
त्यसपछि नेपाल स्वतः दबाबमा आयो किनकी गोल चाहियो अब । त्यसपछि त्यही हतार हतारमा सुरुभयो बारम्बार गल्तिको शिलशिला । खराब फर्स्ट टच । मिस पास । जसले गर्दा कुनै अवसर सिर्जना हुन सकेन । पहिलो हाफमा अनिता बस्नेतको फ्रिकिक रुपनाले बचाउदा र एउटा गोललाइन क्लियर हुदा नेपाल बराबरी गोलबाट चुक्यो ।
बंगलादेशको दोस्रो गोलले त नेपालको सम्भावना निकै घटाइसकेको थियो । पुनम जर्घाको कमजोर कन्ट्रोलको फाइदा उठाउदै साम्सुनाहारले नै डिस्पोजेज गरिन । र, सबिनालाई सेटअप गरिदिईन । नेपाली खेलाडीले फ्री छोडेकी श्रीमति सरकारले सविनाको असिस्टलाई टपक्लास फिनिस गरिन । नेपाली डिफेन्स रनभुल्ल थियो ।
बंगलादेशको स्कुल फुटबलबाट उदाएकी सरकार सन् २०१५ मा नेपालमा भएको एएफसी यू-१४ रिजनल च्याम्पियनसिप विजेता टोलीमा पनि थिइन् । उनका बुवाले कपडा सिलाउने काम गर्छन । उनले नेपालविरुद्ध फाइनलमा २ गोल गरेर स्तब्ध पारिन । अन्तिम गोल त नेपालले काउन्टरमा भेटेको थियो । कुमारले डिफेन्डर हटाएर अमिषालाई मैदान उतारेपछि नेपालले ब्याक थ्री खेलेको थियो । तर मिडफिल्डले बल पोजेसन गुमाउँदा डिफेन्डरको कुनै जोर चलेन ।
सावित्रा दोस्रो हाफमा मैदान छिर्दा खेलको पेस बढ्यो । केहि अवसर पनि आए । उनको उपस्थितिले मात्र धेरै फरक पार्छ भन्ने फेरी एकपटक देखियो । अनिताले राम्रो गोल गरिन यसमा योगदान साम्बाको रह्यो ।
के नेपाललाई 'ओभर हाइप' अर्थात धेरै उचालिएको थियो ?
उसो त यो आ-आफ्नो सोचको परिणाम हुन सक्ला तर फुटबल वृत्तमा चर्चा के पनि छ भन्दा भारतलाई पराजित गरिसकेपछी नेपाली टोलीले आफ्नो धरातल बिर्सने गरेर बंगलादेशलाई 'अन्डरइस्टिमेट' गरेको थियो भन्ने छ । हो निश्चय पनि नेपाल फुटबलप्रति असाधारण मोह राख्ने देश हो । यहाँ खेल र खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ ।
भारतविरुद्धको जितले नेपाली खेलकुदमा ठुलो अर्थ राख्छ । कतै त्यो जितको उत्साहमा खेलाडीहरु बिचलित त थिएनन । साफमा सधै पराजित हुँदै आएको बंगलादेश नेपालका लागि हद भन्दा बढी "सजिलो प्रतिद्वन्द्वी" त बनेन ? प्रश्नहरु त उब्जिने नै भए । किनकी जितमा केहि देखिदैन तर हारमा सबथोक देखिन्छ । खेलकुदको स्वभाव नै यस्तै ।