काठमाडौं । सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुद त्यस्तो अवसर हो, जहाँबाट नेपाली महिला फुटबलले पुर्नजागरण गरेको थियो ।
त्यस अगाडि लगभग १० वर्ष नेपाली महिला फुटबल चुपचाप रह्यो, अथवा भनौं, चुपचाप रहन बाध्य पारियो । त्यो वर्षको जनवरी २९ मा नेपालले ढाकामा धेरै अर्थमा ऐतिहासिक खेल खेलेको थियो ।
संयोग मानौं, नेपालको त्यति बेलाको प्रतिद्वन्द्वी थियो, बंगलादेश । यही बंगलादेशसँग नेपालले आफ्नो महिला फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हात पार्न आज सोमबार दशरथ रंगशालामा भिड्दै छ ।
अवसर हो, वुमेन्स साफ च्याम्पियनसिप २०२२ । संयोग के पनि छ भने दुई टिमबीच अहिलेसम्म आठ खेल भएकोमा नेपाल अपराजित छ ।
यी आठ खेलमध्ये नेपाल छ प्रतिस्पर्धामा विजयी रहेको छ भने दुई बराबरीमा टुंगेको छ । नेपालले बंगलादेशविरुद्धका सुरुआती चार खेल लगातार जितेयता प्रारम्भिक वुमेन्स ओलम्पिक छनोटमा १–१ को बराबरी खेलेको थियो ।
त्यसपछि नेपाल फेरि दुई खेलमा विजयी रह्यो । दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको अन्तिम खेल भने गोलरहित बराबरीमा टुंगेको थियो ।
यी आठ खेलमा नेपालले जहाँ १४ गोल गरेको छ, त्यहीं दुई गोल मात्र खाएको छ । बंगलादेशविरुद्ध जमुना गुरुङले सर्वाधिक तीन गोल गरेकी छिन् । यस्तै अनु लामाले दुई गोल गरेकी छिन् ।
एक गोल गर्नेमा सजना राणा, दीपा अधिकारी, निरु थापा, सावित्रा भण्डारी, अन्जलीकुमारी योञ्जन, सविता राना र प्रिती राई छन् । एक गोल भने आत्मघाती रहेको छ ।