चुनावको मिति तोक्ने तयारीमा एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारण सभाको मिति तोक्ने तयारी सुरु भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले साधारण सभासम्बन्धी अजेन्डा समेट्दै आगामी बुधबार एन्फा कार्यसमिति बैठक बोलाएका छन्। बैठकमा साधारण सभा तथा निर्वाचनसम्बन्धी अजेन्डालाई मुख्य रूपमा समावेश गरिएको छ।
एन्फाको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ साल असार ६ गते सकिँदैछ। एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा अधिकतम ६ महिनासम्म कार्यकाल थप गर्न सकिने प्रावधान छ।
नियमित निर्वाचन गर्ने समयमै सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने भएकाले एन्फासँग चुनावी साधारण सभा विश्वकपअघि वा विश्वकपपछि गर्ने दुई विकल्प छन्।
एन्फा महासचिव किरण राईले बुधबार बस्ने कार्यसमिति बैठकले एन्फा चुनावको मिति तोक्ने खेलपाटीलाई जानकारी दिए। ‘विश्वकपका कारण नियमित साधारण सभा असारमा गर्न सम्भव छैन। त्यसैले या त विश्वकपअघि नै गर्नुपर्छ वा पछि। बुधबारको बैठकले यसबारे निर्णय गर्छ,’ उनले भने।
कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि चुनावको मिति भने निश्चित गर्नेछ। ‘एन्फाले अर्ली इलेक्सन गर्न खोजेको हो ?’ भन्ने खेलपाटीको प्रश्नमा उनले भने,‘केही साथीहरू अर्ली इलेक्सनको पक्षमा हुनुहुन्छ भने केही साथीहरू विश्वकपपछि पुस–माघतिर चुनाव गरौं भन्नुहुन्छ। हामी दुवै विकल्पप्रति खुला छौं। सुझावअनुसार एउटा मिति तय गर्छौं।’
जिल्ला र क्लब तहमा राम्रो पकड रहेको वर्तमान नेतृत्वले रणनीतिक फाइदाका लागि अर्ली इलेक्सन गर्न खोजेको भन्दै एन्फा चुनावको मिति तोक्ने अजेन्डामाथि विभिन्न टिप्पणीहरू भइरहेका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलअघि चुनाव गर्दा त्यसको लाभ लिन सकिने अनुमान पनि गरिएको छ।











-1767006224106.jpeg&w=3840&q=75)
