काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको आज सोमबार तय भएको नेपाल एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र बागमतीबीचको खेल रद्द भएको हो ।
दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् ।
एपीएफको यो लगातार चौंथो खेल रद्द भएको हो । यता, बागमतीको यो लगातार चौंथो खेल रद्द भएको हो ।
समूह 'बी' मा रहेको बागमतीले ४ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपाल एपीएफ क्लबले ३ खेलमा ३ अंक जोडेको छ । मुलपानी मैदानमा यस प्रतियोगिताको यो लगातार नवौं खेल स्थगित भएको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएन स्पोर्टस एकेडेमीको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।